आजभन्दा करिब ५१०० वर्ष पहिले भएको पाँच पाण्डव र सय कौरवबीचको कुरुक्षेत्रको प्रसिद्ध युद्ध महाभारत युद्ध बिजयपछि पाँच भाई पाण्डवहरु ईसापूर्व ३१०२ तिर मानसरोवर र कैलाशमा तिर्थाटनका लागि हिडेका थिए ।
उनीहरू भारतको हस्तिनापुरबाट नेपालको तराई मधेस क्षेत्र हुँदै पहाडतर्फ उक्लँदै अछाम, बाजुरा हुँदै बझाङ थलाराको बाटो भएर खप्तड खेचराद्रिलाई पाण्डवहरूले वनवास र अज्ञातवासको केही समय बिताएको मानिन्छ । त्यहाँ रहेका 'पाण्डव गुफा', 'सहदेव कुण्ड' जस्ता स्थानहरू यसकै उदाहरण हुन्। त्यसपछि उनीहरु फेरि उनीहरु बाह्रकोट अर्थात पडेश तर्फ आएको कथन छ ।
पडेशको चैनपुर तर्फ डिल अर्थात् पानकोटमा उनीहरुको बास भएको थियो । जहाँ अझैं इतिहास जिवन्त छ । त्यहाँ माटोबाट बनाइएका द्रौपतिसहित पाँच पाण्डका मुर्ती संग्रहका रुपमा राखिएका छन् भने पाण्डवको पाउ अर्थात खुट्टा छाप यथावत रहेको छ । हाल यहाँ हरेक वर्ष पाँच पाण्डवको पुजा गर्ने गरिन्छ । पडेशमा बस्दा उनीहरुले जितको खुशीयाली स्वरुप युद्वकला खेल्ने क्रममा आफ्नो प्रत्यक्ष निगरानीमा त्यहाँका स्थानीय बासिन्दाहरुलाई युद्वकला अर्थात भुवोभस्सो र चाली खेलाएको किंवदन्ती छ । हाल उक्त पवित्र भुमीमा नेपाली सेनाको ब्यारेक रहेको छ । त्यस पाँच पाण्डव मन्दिरमा भुवो भस्सो खेलिसकेपछि अन्तिम दिनमा चालीबगालीसहित युद्वकला प्रदर्शन गर्ने चलन अझैं जिवित छ ।
यही पाँच पाण्डवले बास बसेर युद्वकला खेलेको अर्थात् खुशीयाली मनाएको ठाउँबाट नै यस गाउँको नाम पाण्डु प्रबेश अप्रभंस हुन गइ पडेश रहन गएको हो । पाँच पाण्डवकै नाममा हाल पडेश गाउँको सिरानीमा पाण्डु मावि पनि स्थापना भएको छ । खड्काहरुका बाजेको नाम हितु भएकाले यस गाउँलाई हेमन्तवाडा पनि भन्ने गरिन्छ । बझाङ जिल्ला भरिकै राम्रो भुवो भस्सो तथा युद्वकला चाली राम्रो खेल्ने गाउँ पनि पडेश नै मानिन्छ । यहाँ विभिन्न गाउँबाट पडेशको चाली खेल्न र हेर्न आउने गर्छन् । यो गाउँ बझाङको ठूलो र बढी थर भएका मानिसहरुको बाक्लो बस्ती भएको गाउँ पनि हो । यहाँ खड्का, ओली,ऐडी,विष्ट, रोकाया, दाहाल, पाण्डे, जोशी, कडायत, चन, ओड, सुनार, दमाई,ओखेडा, सार्की, आउजी लगायत बसोबास गर्दछन् ।
केही समयको बसाईपछि पाँच पाण्डवहरु घुमफिरका लागि सुर्माको शिरमा अवस्थित संङ्खमाला हिमालमा पुगेको र पछि सेती किनारै किनार हालको साइपाल गाउँपालिका अर्थात् काँडा क्षेत्र हुँदै मानसरोवर र कैलाशमा तिर्थाटनका लागि हिडेको किम्बदन्ती छ । प्राचीन कालदेखि नै तिब्बतको ताक्लाकोट र मानसरोवर जाने सबैभन्दा छोटो र चल्तीको परम्परागत मार्गमध्ये एक यो पनि हो।
यात्राका क्रममा पाण्डवहरू र उनीहरूका सहयात्री जसमा बझाङका प्राचीन पुर्खाहरू पनि सामेल भएको मानिन्छ । उनीहरुले ठाउँ-ठाउँमा विश्राम गर्दा, विजयको खुसीयाली मनाउँदा र स्थानीय बासिन्दासँग आत्मीयता साटासाट गर्दा आफ्ना अस्त्र-शस्त्र चलाउने कला (युद्धकला) प्रदर्शन गरेका थिए। त्यही कलालाई बझाङी पुर्खाहरूले पछिसम्म जीवन्त राखे, जुन आज 'भुवो भस्सो' का रूपमा प्रख्यात छ। पाण्डवहरू भगवान् शिवका परम भक्त थिए। युद्धको पाप र मानसिक अशान्तिबाट मुक्त हुन उनीहरू शिवको निवास स्थान कैलाश-मानसरोवर क्षेत्रमा पुगेर तपस्या गरेको र शिवको दर्शन पाएको लोकविश्वास तथा स्कन्द पुराण आदिमा उल्लेख छ।
यही महाप्रस्थानको क्रममा मानसरोवर र कैलाश पार गरेर अझ माथि 'सुमेरु पर्वत' (स्वर्गरोहिणी) तर्फ जाँदै गर्दा द्रौपदी र युधिष्ठिर बाहेकका चार भाइको बाटोमै कठीन मौसम र आफ्ना साना कमजोरी जस्तै: घमण्डका कारण क्रमशः मृत्यु भएको थियो। केवल युधिष्ठिर मात्र जीवितै स्वर्ग पुगेका थिए भन्ने किम्बदन्ती छ ।
पडेशको थप इतिहास खोतल्दा भ्वाँनी माडु नजिक मोर्तली गाउँ नजिक रावलहरुको बसोबास रहेको थियो भने हालको हितुवाडातिर खाती र खडायतहरु बस्ने गरेको अग्रजहरुको भनाई छ । हितुवाडास्थित थापाको घर नजिकको कुवाको नाम अझैं पनि खाती नाउलो रहेको छ । खडायती गाउँ भनेर जेठाबाडा तल जाख नजिकको ठाउँलाई भनिन्छ । यस्तै हालको दाहालवाडामा पहिले कुमालहरु बस्ने गर्थे । पछि उनीहरुको महामारीका वंशनाश भरि उनीहरुले कमाउँदै आएको जमिन बझाङ्गी राजाले सुरक्षित राखेको पछि दाहाललाई दिएको भन्ने पाकापुर्खाहरुबाट सुन्न पाइन्छ । मष्टा -१ लेकीका रोकाया पनि पडेशबाटै गएको कथन छ । भातेखोली बाहुनहरु ओखेडाबाडाबाट भागेको अर्को इतिहास छ ।
नोट : बझाङका इतिहास विद विष्णुभक्त शास्त्री र स्कन्द पुराण तथा अन्य खोजका आधारमा प्रताप ओलीद्वारा तयार पारिएको ।