नेभिगेशन
बझाङको इतिहास

पडेश गाउँको नाम कसरी रहन गयो ?

आजभन्दा करिब ५१०० वर्ष पहिले भएको पाँच पाण्डव र सय कौरवबीचको कुरुक्षेत्रको प्रसिद्ध युद्ध महाभारत युद्ध बिजयपछि  पाँच भाई पाण्डवहरु ईसापूर्व ३१०२ तिर मानसरोवर र कैलाशमा तिर्थाटनका लागि हिडेका थिए । 

उनीहरू भारतको हस्तिनापुरबाट नेपालको तराई मधेस क्षेत्र हुँदै पहाडतर्फ उक्लँदै अछाम, बाजुरा हुँदै बझाङ थलाराको बाटो भएर खप्तड खेचराद्रिलाई पाण्डवहरूले वनवास र अज्ञातवासको केही समय बिताएको मानिन्छ । त्यहाँ रहेका 'पाण्डव गुफा', 'सहदेव कुण्ड' जस्ता स्थानहरू यसकै उदाहरण हुन्। त्यसपछि उनीहरु फेरि उनीहरु बाह्रकोट अर्थात पडेश तर्फ आएको कथन छ ।  

पडेशको चैनपुर तर्फ डिल अर्थात् पानकोटमा उनीहरुको बास भएको थियो । जहाँ अझैं इतिहास जिवन्त छ ।  त्यहाँ माटोबाट बनाइएका द्रौपतिसहित पाँच पाण्डका मुर्ती संग्रहका रुपमा राखिएका छन् भने पाण्डवको पाउ अर्थात खुट्टा छाप यथावत रहेको छ । हाल यहाँ हरेक वर्ष पाँच पाण्डवको पुजा गर्ने गरिन्छ । पडेशमा बस्दा उनीहरुले जितको खुशीयाली स्वरुप युद्वकला खेल्ने क्रममा आफ्नो प्रत्यक्ष निगरानीमा त्यहाँका स्थानीय बासिन्दाहरुलाई युद्वकला अर्थात भुवोभस्सो र चाली खेलाएको किंवदन्ती छ । हाल उक्त पवित्र भुमीमा नेपाली सेनाको ब्यारेक रहेको छ । त्यस पाँच पाण्डव मन्दिरमा भुवो भस्सो खेलिसकेपछि अन्तिम दिनमा चालीबगालीसहित युद्वकला प्रदर्शन गर्ने चलन अझैं जिवित छ ।

 यही पाँच पाण्डवले बास बसेर युद्वकला खेलेको अर्थात् खुशीयाली मनाएको ठाउँबाट नै यस गाउँको नाम पाण्डु प्रबेश अप्रभंस हुन गइ पडेश रहन गएको हो । पाँच पाण्डवकै नाममा हाल पडेश गाउँको सिरानीमा पाण्डु मावि पनि स्थापना भएको छ ।  खड्काहरुका बाजेको नाम हितु भएकाले यस गाउँलाई हेमन्तवाडा पनि भन्ने गरिन्छ । बझाङ जिल्ला भरिकै राम्रो भुवो भस्सो तथा युद्वकला चाली राम्रो खेल्ने गाउँ पनि पडेश नै मानिन्छ । यहाँ विभिन्न गाउँबाट पडेशको चाली खेल्न र हेर्न आउने गर्छन् । यो गाउँ बझाङको ठूलो र बढी थर भएका मानिसहरुको बाक्लो बस्ती भएको गाउँ पनि हो । यहाँ खड्का, ओली,ऐडी,विष्ट, रोकाया, दाहाल, पाण्डे, जोशी, कडायत, चन, ओड, सुनार, दमाई,ओखेडा, सार्की, आउजी लगायत बसोबास गर्दछन् ।

केही समयको बसाईपछि पाँच पाण्डवहरु घुमफिरका लागि सुर्माको शिरमा अवस्थित संङ्खमाला हिमालमा पुगेको र पछि सेती किनारै किनार हालको साइपाल गाउँपालिका अर्थात् काँडा क्षेत्र हुँदै मानसरोवर र कैलाशमा तिर्थाटनका लागि हिडेको किम्बदन्ती छ ।  प्राचीन कालदेखि नै तिब्बतको ताक्लाकोट र मानसरोवर जाने सबैभन्दा छोटो र चल्तीको परम्परागत मार्गमध्ये एक यो पनि हो। 

यात्राका क्रममा पाण्डवहरू र उनीहरूका सहयात्री जसमा बझाङका प्राचीन पुर्खाहरू पनि सामेल भएको मानिन्छ । उनीहरुले  ठाउँ-ठाउँमा विश्राम गर्दा, विजयको खुसीयाली मनाउँदा र स्थानीय बासिन्दासँग आत्मीयता साटासाट गर्दा आफ्ना अस्त्र-शस्त्र चलाउने कला (युद्धकला) प्रदर्शन गरेका थिए। त्यही कलालाई बझाङी पुर्खाहरूले  पछिसम्म जीवन्त राखे, जुन आज 'भुवो भस्सो' का रूपमा प्रख्यात छ।  पाण्डवहरू भगवान् शिवका परम भक्त थिए। युद्धको पाप र मानसिक अशान्तिबाट मुक्त हुन उनीहरू शिवको निवास स्थान कैलाश-मानसरोवर क्षेत्रमा पुगेर तपस्या गरेको र शिवको दर्शन पाएको लोकविश्वास तथा स्कन्द पुराण आदिमा उल्लेख छ।

यही महाप्रस्थानको क्रममा मानसरोवर र कैलाश पार गरेर अझ माथि 'सुमेरु पर्वत' (स्वर्गरोहिणी) तर्फ जाँदै गर्दा द्रौपदी र युधिष्ठिर बाहेकका चार भाइको बाटोमै कठीन मौसम र आफ्ना साना कमजोरी जस्तै: घमण्डका कारण क्रमशः मृत्यु भएको थियो। केवल युधिष्ठिर मात्र जीवितै स्वर्ग पुगेका थिए भन्ने किम्बदन्ती छ ।

पडेशको थप इतिहास खोतल्दा भ्वाँनी माडु नजिक मोर्तली गाउँ नजिक रावलहरुको बसोबास रहेको थियो भने हालको हितुवाडातिर खाती र खडायतहरु बस्ने गरेको अग्रजहरुको भनाई छ । हितुवाडास्थित थापाको घर नजिकको कुवाको नाम अझैं पनि खाती नाउलो रहेको छ । खडायती गाउँ भनेर जेठाबाडा तल जाख नजिकको ठाउँलाई भनिन्छ । यस्तै हालको दाहालवाडामा पहिले कुमालहरु बस्ने गर्थे । पछि उनीहरुको महामारीका वंशनाश भरि उनीहरुले कमाउँदै आएको जमिन बझाङ्गी राजाले सुरक्षित राखेको पछि दाहाललाई दिएको भन्ने पाकापुर्खाहरुबाट सुन्न पाइन्छ । मष्टा -१ लेकीका रोकाया पनि पडेशबाटै गएको कथन छ । भातेखोली बाहुनहरु ओखेडाबाडाबाट भागेको अर्को इतिहास छ । 

नोट : बझाङका इतिहास विद विष्णुभक्त शास्त्री र स्कन्द पुराण तथा अन्य खोजका आधारमा प्रताप ओलीद्वारा तयार पारिएको ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप बझाङको इतिहास
भोट युद्धका बझांगे बहादुरहरू

भोट युद्धका बझांगे बहादुरहरू

बझाङको नामकरणसँग साइनो जोडिएको ऐतिहासिक बझाङकोट

बझाङको नामकरणसँग साइनो जोडिएको ऐतिहासिक बझाङकोट

बझाङको सदरमुकाम चैनपुरदेखि लगभग १५ किमी दक्षिण–पश्चिममा अवस्थित छ, प्राचीन ‘बझाङकोट’ ।
जक्तिको जुक्ति र थलारा राज्य

जक्तिको जुक्ति र थलारा राज्य

नेपाल पुनर्एकीकरणअघि सुदूरपश्चिम बाइसे राज्यमा विभाजित थियो।