बझाङको सदरमुकाम चैनपुरदेखि लगभग १५ किमी दक्षिण–पश्चिममा अवस्थित छ, प्राचीन ‘बझाङकोट’ तथा ब्याँसी दरबार । हाल छबिस–पाथिभेरा गाउँपालिकाको ब्याँसी–तामाखानीमा पर्ने बझाङकोट पुग्न जयपृथ्वी राजमार्गको मोरिबगर–भाँडेबगरबाट तीन–चार किमी ठाडै उकालो चढ्नुपर्छ । यतिबेला भने भाँडे–ब्याँसी सडकले ‘बझाङकोट’लाई छोएको छ ।
ब्यासी–तामाखानी नजिक तीन सय मिटरको फरकमा उभिएका दुई टाकुराहरूमध्ये पश्चिमी टाकुरामा अवस्थित छ– बझाङकोट । यसको उत्तर, दक्षिण र पश्चिममा भीर छ । पश्चिम दिशाबाट सोझै तल तारुगाड (खोला) देखिने कहालीलाग्दो पहरो छ । बझाङकोट पुग्ने एउटै बाटो पूर्वी दिशातिरबाट मात्रै छ । ब्याँसीबाट बझाङकोट पुग्न १५ मिनेट जति उकालो हिँड्नुपर्छ । यो उकालो ढुङ्गे सिढीको छ । कोटमुनि दुई-चार घर नगर्ची (दमाई)हरूका छन् । बझाङी राजाहरूको राजकाज र शुभकार्यमा बढाइँ गर्ने नगर्चीहरू आफूलाई ढेक्रे बोहराका दरसन्तान मान्छन् । नगर्चीहरूले ‘बझाङकोट’मुनि ‘कालासैन’को मन्दिर स्थापना गरेर पूजापाठ गर्ने गरेका छन् । यतिबेला बझाङकोटमा अरू मानव बस्ती छैन । कोट रुँग्न केही व्यक्ति भने बस्ने गरेका छन् ।
राज्यको नामकरण
प्राचीन बझाङ राज्यको राजधानी हो– बझाङकोट । बझाङको नामकरणसँग पनि यस कोटको साइनो छ । किंवदन्तीअनुसार यस थुम्के डाँडाको गर्भमा फलाम, अभ्रखजस्ता खनिजहरूको भण्डार रहेका कारण ग्रीष्मकालमा नियमित बज्रपात (चट्याङ) भइरहन्थ्यो । यसरी कोट रहेको स्थानमा नियमित बज्रपात भइरहँदा सो ठाउँलाई ‘बज्राङ’ भन्न थालियो । ‘बज्राङ’ शब्द नै पछि बझाङ बन्न गयो । पुराना लिखत र कागजातहरूमा ‘बझाङ’लाई ‘बज्राङ’ नै भनेर उल्लेख गरिएको पाइन्छ ।
बझाङी राजखलक
वंशावलीअनुसार बझाङी राजखलक राना, फत्ता, राय, बम्म हुँदै पछि ‘सिंह’ भएका हुन् । हरिवंश रानापछि सातौँ पुस्ताका रणकेशर रानाका छोरा रामले ‘फत्ता’ लेखेका थिए । चन्द्रवीरपछिका सन्तानहरूले ‘राय’ लेखेका थिए । बझाङ प्रवेश गर्ने रायवंशीय राजा प्रतावदेव थिए । प्रतावदेवले बझाङमा रहेका ‘बाह्रकोटे ठकुरी’हरूलाई जिती नयाँ राज्य खडा गरेका थिए । प्रतावदेवपछिका सन्तानले ‘बम्म’ लेख्न सुरु गरेका थिए । शिवदेवका छोरा जसै बम्म बझाङका राजा भए । उनका छैठौँ पुस्ताका मलै बम्मपछि बझाङी राजाले ‘सिंह’ लेख्न थालेका हुन् । मलै बम्मका दुई छोरा शक्ति र जक्तिले पहिलो पटक ‘सिंह’ लेखेका थिए । तीमध्ये शक्ति सिंहले विसं १५०३ मा स्वतन्त्र ‘बझाङ राज्य’ र जक्ति सिंहले ‘थलारा राज्य’ खडा गरेका थिए ।
शक्ति सिंहपछि उनका छोरा सुजान सिंह, सुजान सिंहपछि भाउ सिंह, भाउ सिंहपछि भिउ सिंह र भिउ सिंहपछि उनका छोरा पृथ्वी सिंह (प्रथम) बझाङका राजा भएका थिए । पृथ्वी सिंहपछि क्रमशः जितारी सिंह, इन्द्र सिंह, भैरव सिंह, दिलिप सिंह, महेन्द्र सिंह, पृथ्वी सिंह (द्वितीय) बझाङका राजा बनेका थिए । पृथ्वी सिंह (द्वितीय) पछि राजा बनेका उनका छोरा रतन सिंह (रतनी सिंह) छयालिसौँ बझाङी राजा हुन् । रतनी सिंहकी छोरी बालवादेवीको विवाह डोटीका रैका राजा मान्धाता शाहीसँग भएको थियो । इतिहासकारहरूका अनुसार मान्धाता शाहीले आफ्नै ससुरा रतनी सिंहको टाउको काटी चौघानपाटा चौरमा भकुण्डो खेलेका थिए । त्यसपछि रतन सिंहका छोरा कल्याण सिंह बझाङको राजा बनेका थिए । इतिहासकार सूर्यमणि अधिकारीले कल्याण सिंहलाई स्वतन्त्र बझाङका प्रथम प्रमाणिक राजा भनेका छन् । वंशावलीले कल्याण सिंहको शासनकाल विसं १७४४ देखि १७८६ सम्म देखाए पनि उनको राज्यकाल विसं १७६१ देखि १७९४ सम्म ३३ वर्ष देखिन्छ । राजा कल्याण सिंहपछि उनका छोरा अमर सिंह बझाङका राजा भए । राजा अमर सिंह पछि उनका जेठा छोरा समुद्र सिंह बझाङका राजा बने ।
राजा समुद्रका पालामा अर्थात् विसं १८४७ मा बझाङ नेपालमा गाभिएको थियो । समुद्र सिंहले वार्षिक पाँच सय सिर्तो तिर्ने गरी आफ्नो राज्य थामेका थिए । राजा रणबहादुर शाहको नामबाट विसं १८५० मा समुद्र सिंहलाई लेखिएको पत्रमा बझाङले वार्षिक ५०१ रुपियाँ बुझाउने गरी राज्य थामेको कुरा उल्लेख छ । त्यसको केही वर्षपछिको पत्रमा बझाङले तिर्नुपर्ने वार्षिक कर पाँच हजार ३७० रुपियाँ पु-याइएको थियो । विसं १८६३ मा लेखिएको पत्रमा एक हजार ६९ रुपियाँ घटाइ बझाङको ठेकबन्दी वार्षिक चार हजार ३०१ रुपियाँ कायम गरिएको छ । बझाङले पश्चिम नेपाल विजय अभियानमा सहयोग गरेको कारण उसको अनुरोधमा केही रकम घटाएको देखिन्छ । राजा समुद्र सिंहपछि उनका छोरा रघुनाथ सिंह र रघुनाथ सिंहपछि उनका छोरा इन्द्र सिंह बझाङका राजा भए । इन्द्र सिंहले युवराज छँदै काठमाडौँस्थित कान्तिपुर दरबारमा १४ वर्ष बिताएका थिए । पछि राजा इन्द्र सिंहको छोरा गजराज सिंहको विवाह राजा गीर्वाणयुद्धविक्रम शाहकी शाहज्यादी सरस्वती कुमारीसँग भएको थियो । राजा गजराज सिंह र सरस्वती कुमारीका छोरा भूपेन्द्र सिंह थिए । राजा भूपेन्द्र सिंहका छोरा विक्रमबहादुर सिंह हुन् र विक्रमबहादुर सिंहका छोरा राजा जयपृथ्वीबहादुर सिंह र देवीजङ्गबहादुर सिंह हुन् ।
बझाङकोट दरबार
बझाङी राजाका पुर्खाहरूले सुरक्षाका दृष्टिले बझाङकोटलाई राजधानी रोजेका थिए । उनीहरूले बझाङकोट दरबारबाटै पाँच सय वर्ष शासन चलाए । दरबार परिसरमा भवानी, कालोढुङ्गा बज्रेश्वर, महादेव, मटेश्वर (मष्टादेव) देवीदेवताका मन्दिर छन् । कालोढुङ्गा बज्रेश्वर र मटेश्वरलाई बझाङी राजखलकहरूले आफ्नो कुलदेवता मान्छन् । बझाङकोट दरबारको राजनीतिक र धार्मिकमात्र नभई ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व पनि उत्तिकै छ । बझाङी राजा गजराज सिंहले राजा गीर्वाणयुद्धविक्रम शाहकी शाहज्यादी सरस्वतीकुमारीको डोला बझाङकोट दरबारमा भित्र्याएका थिए । गजराज सिंहपछि उनका नाति विक्रमबहादुर सिंहको विवाह प्रधानमन्त्री जङ्गबहादुर राणाका दुई छोरी रुद्रकुमारी र मेघकुमारीसँग भएको थियो । राजा विक्रमबहादुरले उनका काजी गम्भीरसिंह कठायतमार्फत काठमाडौँबाट झिकाएको रुद्रकुमारी र मेघकुमारीको डोला बझाङकोट दरबारमै भित्र्याएका थिए ।
२०१९ सालसम्म पनि बझाङ राज्य अदालत बझाङकोटमै थियो । कोटमा त्यतिबेला दरबारसहित पाँच वटा घर थिए । बीचमा ठूलो दरबार, उत्तरपट्टि कालोढुङ्गो, दक्षिणपट्टि भैरवनाथ, पूर्वपट्टि एउटा ठूलो घर थियो । घोडा राख्ने तबेला थियो । एउटा दशैँ घर थियो । हतियार राख्ने कोत थियो । तलतिर स्याल दुला दरबार भन्ने ठूलो दरबार थियो । स्यालदुला दरबार चन्द्रजङ्गबहादुर सिंहका बाजे एकजङ्गको भागमा परेको थियो । २० कोठा रहेको बझाङकोटको मुख्य दरबारलाई १९९० सालको भूकम्पले क्षति पु-याएको थियो । २०२३ सालको भूकम्पमा दरबार पूरै भत्कियो । २०५६ सालमा तत्कालीन राजा वीरेन्द्रकी दिदी तथा बझाङी राजा दीपकजङ्गकी रानी शान्ति सिंहले निजी खर्चमा बझाङकोट दरबारको जीर्णोद्धार गरेकी थिइन् । त्यसको अर्को वर्ष माओवादीहरूले दरबारमा रहेका पुराना मूर्ति, कागजात लैजानुका साथै आगजनी गरेका थिए । यतिबेला बझाङकोट दरबार अस्तित्वविहीन बनेको छ । पुनर्निर्मित भवनको खण्डहर, यत्रतत्र छरिएका इँटाहरूमा सीमित छ पुरानो बझाङकोट दरबारको अस्तित्व । संरक्षणको अभावमा दरबार परिसरमा रहेका शिलालेखका अक्षरहरू समेत पढ्न नसकिने अवस्थामा छन् । दरबार परिसरका मन्दिरहरूमा दशैँ र चैतेदशैँमा पूजाआजासहित बली दिने प्रचलन भने कायमै छ ।
मेल्लेक–जयपृथ्वीनगर
बझाङकोट दरबार क्षेत्र साँघुरो भूगोलमा रहेका कारण कोटमा राज्य प्रशासनका सबै कार्यालयहरू अटाउने ठाउँ थिएन । कोटमुनिको ब्याँसी, तामाखानी र चौघानपाटामा मालअड्डा, जेलघर, राज्य अदालत थिए तर पातलो बस्ती भएका कारण सेवाग्राहीलाई बस्ने खाने ठाउँको अभाव थियो । यसैले राजा जयपृथ्वीबहादुर सिंहले बझाङको राजधानी फराकिलो स्थान मेल्लेकमा सारी यस स्थानको नाम जयपृथ्वीनगर राखेका थिए । बझाङकोटभन्दा चार किमी पूर्वमा अवस्थित जयपृथ्वीनगरमा सत्यवादी पाठशाला, खग आयुर्वेदिक औषधालय, मालअड्डा, राज्य अदालत, जेलघरलगायतका सबै कार्यालय स्थानान्तरण गरेका थिए । जयपृथ्वीनगरमा जनताको सुविधाका लागि हरेक ‘दरा’ र ‘गर्खा’हरूका आआफ्नै भवन निर्माण गर्न लगाएका थिए । यो कार्यले ती दरा र गर्खाका मानिसहरू काम विशेषले जयपृथ्वीनगर आउँदा बस्न सजिलो भएको थियो । केही वर्ष जयपृथ्वीनगरबाटै बझाङ शासित रह्यो ।
राजधानी चैनपुर–भोपुर
जयपृथ्वीबहादुर सिंहले राजकाज त्यागेपछि उनका सौतने भाइ देवीजङ्गबहादुर सिंह बझाङको राजा बने । देवीजङगबहादुर सिंह विलासी, ऐयासी र शान सौकतवाला राजा थिए । उनले १९९० सालमा काठमाडौँबाट कालिगढ झिकाएर चैनपुरमा हात्तीसार दरबार र भोपुर दरबार बनाउन लगाए । दरबार डिजाइनका लागि कलकत्ताबाट इन्जिनियर झिकाए । दुवै दरबार भूकम्प प्रतिरोधी बनाए । हात्तीसार दरबार मासको गाह्रो लगाएर बनाइएको थियो । हात्तीसार दरबार निर्माणका लागि बझाङका हरेक गाउँबाट मासको दाल जम्मा गर्न लगाए । खप्तडबाट उत्खनन गरिएको अभ्रख दरबारको कोठाचोटामा लगाइएका थिए । तराईबाट पैदलै हात्तीका छावा ल्याएर दरबारमा राखिएका थिए । यसैले उक्त दरबारको नाम हात्तीसार दरबार रहेको थियो । देवीजङ्गले भोपुर दरबारमा भारदारीसभा राख्ने गरेका थिए । राज्य अदालतको काम भोपुर दरबारबाटै हुने गथ्र्यो । देवीजङ्गले हात्तीसार दरबारमा भारदार, कारिन्दा, ढोकेबैठके, छाते र हतियारधारी पोसाकमा सुसज्जित सुरक्षाकर्मीहरूसँग सोफामा बसेर खिचेका तस्बिर हेर्दा कुनै राणा–शाहहरूको भन्दा उनको शानशौकत कम देखिन्न । राजा देवीजङगले चैनपुर–भोपुरमा मात्र नभई हाल डडेल्धुराको भित्री तराईमा पर्ने जोगबुढाको मलासमा पनि दरबार बनाएर केही समय बसेका थिए । पञ्चायतकालमा हात्तीसार दरबार रामजङगका कान्छा भाइ गगनजङ्गबहादुर सिंहले र भोपुर दरबार दिपकजङ्गबहादुर सिंहले सरकारलाई बेचेका थिए ।
हात्तीसार दरबारमा जिल्ला प्रशासन कार्यालय राखिएको थियो । यतिबेला भने जिल्ला प्रशासन कार्यालय नयाँ भवन बनाएर नजिकै सरेको छ । भोपुर दरबारमा नेपाली सेनाका ब्यारेक रहे पनि माओवादी युद्धकालमा सेनाले दरबार छाडेका थिए । संरक्षण र रेखदेखको अभावमा भोपुर दरबार भूतबङ्गलामा परिणत भएको छ । उसो त चैनपुर र भोपुरमा दरबार बनाएर राज्य सञ्चालन गर्ने काम भने राजा देवीजङ्गबहादुर सिंहभन्दा अघि नै भएको थियो । भोपुरमा राजा भूपेन्द्र सिंह (गजराज सिंहका छोरा, गीर्वाणयुद्धविक्रम शाहका छोरीतिरका नाति)ले आफ्नो नामबाट भूपपुर नगर बसाएका थिए । पछि भूपपुर अपभ्रंश भई सो ठाउँको नाम भोपुर रहन गएको हो । त्यसैगरी राजा विक्रमबहादुर सिंह (भूपेन्द्र सिंहका छोरा, जयपृथ्वी र देवीजङ्गका बुवा)ले समेत चैनपुरमा दरबार बनाइ वर्षमा केही समय चैनपुर त केही समय बजाङकोटबाट राज्य गर्ने गरेका थिए । सोही कारण जयपृथ्वीबहादुर सिंहको जन्म चैनपुर दरबारमा भएको थियो । राजा विक्रमबहादुर सिंहले बनाएको चैनपुर दरबार भने यतिबेला अस्तित्वमा छैन । जयपृथ्वीबहादुर सिंहले मेल्लेक र देवीजङ्गबहादुर सिंहले चैनपुर–भोपुरमा राजधानी सारे पनि बजाङकोट दरबार अस्तित्वमै थियो । देवीजङ्गपछि उनका छोरा रामजङ्गबहादुर सिंह बझाङको राजा बनेका थिए । धर्मकर्ममा आस्थावान रामजङ्गले भने ऐतिहासिक बझाङकोटबाटै राजकाजका चलाएका थिए । बझाङकोटमा उनका पुर्खाहरूले पुज्ने गरेको ‘कालोढुङ्गा बज्रेश्वर’प्रति रामजङ्गको अगाध श्रद्धा थियो । यही कारण उनले चैनपुर भोपुरमा रहेका राज्य अदालत, जेलघर, मालअड्डा बझाङकोट र नजिकैको तामाखानी, चौघानपाटा र ब्याँसीमा राखेका थिए । त्यतिबेला बझाङमा दुइटा सत्यवादी विद्यालय थिए । एउटा भोपुरमा र अर्को चौघानपाटामा । पछि राजा रामजङ्गका भाइ राजा ईश्वरीजङ्गबहादुर सिंहका छोरा दीपकजङ्गबहादुर सिंहको विवाह २०२२ सालमा राजा महेन्द्रकी जेठी छोरी शान्तिसँग भएपछि २०२३ सालमा सत्यवादी विद्यालयको नाम परिवर्तन गरी शान्ति माध्यमिक विद्यालय राखिएको थियो ।
अन्त्यमा
ऐतिहासिक बझाङकोटको आफ्नै महत्त्व छ । संरक्षण र संवद्र्धनको अभावमा पुरातात्त्विक महत्त्वको बझाङकोट अस्तित्वविहीन बन्न पुगेको छ । त्यसैले ऐतिहासिक, पुरातात्त्विक महत्त्वको बझाङकोट को संरक्षण र संवद्र्धन हुनु जरुरी छ । भौगोलिक अवस्थितिका कारण पनि बझाङकोटको सौन्दर्य कम छैन । बझाङकोट परिसरबाट छबिस–पाथिभेरा, दुर्गा–थली, थलारा, सुर्मालगायत गाउँपालिका र जयपृथ्वी नगरपालिकाका साथै नजिकैका जुजी–चौधारी, धार्मिक महत्त्वको दुर्गाथलीको ज्यूलो, खतेडा माटेसाँघुको दृश्यावलोकन गर्न सकिन्छ । त्यसैले बझाङकोटको प्रचारप्रसार पर्यटन अभिवृद्धिका दृष्टिले समेत हुनु आवश्यक छ । बझाङकोटको प्रचारप्रसार र जीर्णोद्धारसहित स्थानीय कला–संस्कृति, भेषभूषा, परिकार, उत्पादनको प्रवद्र्धन हुनसके स्थानीय जनतासमेत लाभान्वित हुनसक्ने देखिन्छ । बझाङकोट संरक्षण, संवद्र्धन र जिर्णोद्धारका लागि स्थानीय पालिकाहरूको पहल आवश्यक छ ।