नेभिगेशन
बझाङको इतिहास

भोट युद्धका बझांगे बहादुरहरू

बझाङका राजा जयपृथ्वी सिंहले वि.सं. १७२५ सालमा राज्यको प्रशासकीय काम गर्नका लागि कान्छा भाइ मेदनी सिंहलाई तलकोटको रजबारको पद र अंशसमेत दिए। मेदनीको काम भोटसँग व्यापार हुने नाका ताकला कोटको कर उठाई, स्थानीय क्षेत्रमा बझाङको नियमकानुनको पालना गर्न लगाई बझाङको राजालाई मद्दत गर्नुथियो। यो छुट्टै राज्य होइन। त्यसैगरी बझाङका राजा दिलीप सिंहले भाइ गान्ही (गान्धी) सिंहलाई १७७५ सालमा रनरामा प्रशासन चलाउनेगरी रजबार पद र अंश दिए।

यसै सिलसिलामा १९११/१२ मा अन्तिम नेपाल–भोट युद्ध भयो। प्रधानमन्त्री जनरल जंगबहादुर राणाले बझाङी राजा भुपेन्द्रबहादुर सिंहलाई भोट युद्धमा बझाङबाट सेना पठाई सहयोग दिन आदेश दिए। राजा भुपेन्द्रका रजबारहरू:

१. बस्तीका रजबार विचित्र बहादुर सिंह

२. रनदाका रजबार चेतु सिंह (बृगेडियर जनरल केदारबहादुर सिंह, महासेनानी अमूल्यबहादुर सिंहका पुर्खा) 

३. तलकोटका रजबार महेश्वर सिंह

हरेक रजबारले २०० सेनाको नेतृत्व (कमान्ड) गर्ने गरी जम्मा ६०० बझाङी सेना ताक्लाकोट हुँदै जनरल धीर शमशेर राणाको मातहतमा काम गर्ने गरी कुती भोट पठाए। भोटमा ठुलो युद्ध भयो। तीमध्ये बझाङबाट खटिएका सेनाले धेरै भोटे सेना मारे। लडाइँ जितेपछि ७० नालभन्दा बढी भोटेका हतियार खोसेर बझाङ ल्याए।

यसबारेमा जनरल धीर शमशेरले जंगबहादुरलाई प्रतिवदेन गरे। यता बझाङी फौज बझाङ आइपुग्यो। भोटेका हतियार खोसी ल्याएका र विजय लडाइँ लडेका सेनालाई राजा भुपेन्द्रले सिँदुरे जात्रा गरी स्वागत गरे। सो सबै वृत्तान्त राजा भुपेन्द्रले श्री ३ जंगबहादुरकोमा काठमाडौं पठाए।

बझाङका सेनाको बहादुरी कामबारे श्री ५ सुरेन्द्रको आदेश लिएर उक्त लडाइँमा नेतृत्व गर्ने बझाङका ३ जना रजबार विचित्र बहादुर, रजबार चेतसिंह तथा रजबार महेश्वर सिंहलाई सरदारको पद तथा ‘बझाङी बहादुर’को सम्मान दिए। साथै ती तिनै रजबारले आफ्ना मातहतका फौजद्वारा भोटेसँग खोसेका हतियार सबै उनीहरूले नै राख्न पाउन अधिकारसमेत दिए।

यो बहादुरको सम्मान पाउने घटना पहिलो हो भने त्यसपछि १९१४ साल (सन् १८५७) को भारतमा भएको सिपाही विद्रोहमा प्रशासनिक काम गरेबापत लप्टन गम्भीर सिंह माझी (पछि राय माझी) ले पाएका थिए। लेखक २०७९ साल पुस १९ गते तलकोटका रजबार महेश्वर सिंहको सन्तानको घरमा पुगी इतिहास संकलन गर्दा उनीहरूले करिब २२ नाल बन्दुक र ५० औं खुँडा, तरबार राख्दै आएकोमा माओवादीले प्रायः सबै लगेको र हाल एक नाल बन्दुक, खुँडा, तरबार मात्र बाँकी रहेको देखियो। यो तलकोट दरबारकोटकै रूपको छ तर सानो घर छ। हाल पनि त्यसको सैनिक महत्व उच्च छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप बझाङको इतिहास
बझाङको नामकरणसँग साइनो जोडिएको ऐतिहासिक बझाङकोट

बझाङको नामकरणसँग साइनो जोडिएको ऐतिहासिक बझाङकोट

बझाङको सदरमुकाम चैनपुरदेखि लगभग १५ किमी दक्षिण–पश्चिममा अवस्थित छ, प्राचीन ‘बझाङकोट’ ।
जक्तिको जुक्ति र थलारा राज्य

जक्तिको जुक्ति र थलारा राज्य

नेपाल पुनर्एकीकरणअघि सुदूरपश्चिम बाइसे राज्यमा विभाजित थियो।
बझाङका पुरातात्विक–ऐतिहासिक महत्वका गाउँबस्तीहरु

बझाङका पुरातात्विक–ऐतिहासिक महत्वका गाउँबस्तीहरु

वर्तमान बझाङ जिल्ला नेपाल एकीकरणअघि छुट्टै राज्य थियो ।
भर्खरै