नेभिगेशन
विचार

‘रेडियोमा भविष्य छैन’ भन्दा दुःख लाग्छ

सञ्चारको विश्वसनीय र भरपर्दाे माध्यम रेडियो हाम्रो जस्तो दुर्गम ठाउँमा अत्यन्तै लोकप्रिय छ । म जन्मिए, बुझ्ने भए हाम्रो गाउँका घर घरमा रेडियो घन्किरहन्थ्यो । रेडियोमा बजेका गित, विज्ञापन र समाचारहरु सबैका संवादका विषय बन्थे । मेरो घरमा पनि ठुलो रेडियो बजिरहन्थ्यो । मैले रेडियो सुनेरै हुर्कने अवसर पाए । मलाई रेडियोमा बज्ने “फोनिङ कार्यक्रम“ ले बिस्तारै तान्दै गयो ।

घरमा अरुले गफ गर्दै रेडियो बजाएको मलाई मन पर्दैनथ्यो । एकान्तमा रेडियो लगेर एक्लै सुन्दै, हाँस्दै बस्थे म । रेडियोबाट नयाँ नयाँ र संदेशमुलक कुराहरु आउथे । मैले रेडियोबाट सबै कुरा अगाडि थाहा पाउथे अरुलाई पनि सुनाउथे । बिस्तारै मेरो रेडियो प्रतिको माया र आकर्षण बढ्दै गयो । लत नै बस्यो मलाई रेडियोको । मलाई रेडियोमा बोल्ने मान्छे कस्ता होलान् ? रेडियो कसरी बज्छ होला ? मैले पनि रेडियोमा बोल्न पाउँला ? सकुँला ? जस्ता प्रश्नले सताउन थाले । 

मैले बिस्तारै श्रोता भएर कार्यक्रममा फोन गरेर सहभागीता जनाउन थाले । सुरु सुरुमा फोन उठ्दा मुटु काँपेर स्वर रोकिन्थ्यो । गित गाउँन नसकेनि अन्य कार्यक्रममा म नियमित श्रोता भएकि थिए । कतिपय सञ्चारकर्मीले मेरो आवाज सुरुमै चिन्नुहुन्थ्यो । मलाई रेडियो नसुनेर खाना खान मन लाग्दैनथ्यो । २०७४ सालमा मैले एसईई दिन घरभन्दा टाढाको स्कुलमा जानुपर्यो । रेडियो घरमै छोड्न पर्यो । परीक्षा दिने ठाउँमा रेडियो लग्न असम्भव थियोे । मैले दिदीको सानो किबोर्ड मोबाइल मागे । जसमा इयरर्फाेन भए मात्रै रेडियो बज्थ्यो । उता पनि समय मिलाएर रेडियो सुने, कार्यक्रममा सहभागीता जनाए ।

एसईई परीक्षा सकेर घर गएपछि फ्रि भइयो मैले सानो मोबाइल मागे घरमा । सिमकार्ड नभएको मोबाइलमा रेडियो राम्रो सुनिन्थ्यो मैले ११ र १२ कक्षा रेडियो सुनेरै बिताएँ । फुर्सदमा म एक्लै बसेर रेडियोमा बोलेको जस्तै गरेर प्रयास गर्थे अनेकौं सपना खेलाउथेँ मनमा ।  

राम्रो अंक सहित १२ पास भइसके पछि घरमा मलाई धनगढी पठाउने कुरा भयो । तर मेरो अत्याधिक रेडियो मोह ले धनगढी जान दिएन । मैले सदरमुकाम चैनपुरमा गएर पढ्ने र उतै रेडियोमा काम गर्ने बताए । मेरो रेडियोप्रतिको तृष्णा बुवाले बुझ्नु भएको थियोे । उहाँले पनि स्वीकृति दिनुभयो अनि म १७ वर्षमा चैनपुर आए । मैले धेरै सुन्ने र धेरै मन पराउने रेडियो खप्तड आवाज बजारको चौराहामा रहेछ । मैले सुरुमा ठुला अक्षरमा रेडियोको नाम लेखेको साइनबोर्ड देख्दा निकै खुशी भए, हेरिरहेँ ।

त्यस रेडियोका अध्यक्ष हाम्रै गाउँका भएकाले राम्रै चिनजान थियो । उहाँले पालिकामा युवाहरुको प्रतिभा पहिचानको निमित्त सांसद अभ्यास कार्यक्रम चलाउनु भएको थियो । त्यस कार्यक्रममा मेरो बोल्न सक्ने क्षमता र केही फरक प्रतिभा उहाँलाई थाहा थियोे । मैले एकदिन उहाँलाई फोन गरेर रेडियोमा काम गर्न चाहेको कुरा बताए । हुन्छ म सोचेर भनौंला भन्नुभयो । केही दिनमा भेट भयो मैले मलाई पैसा नदिए पनि हुन्छ रेडियोमा बोल्न मात्रै दिनु भने । उहाँले राम्रो काम गरे सबैकुरा मिलाउने बताउँदै रेडियोमा आजैदेखि आउन भन्नुभयो । रेडियोमा स्टाफ रहेनछन् । दुई जना मात्रै थिए । मैले भोलिपल्ट कार्यक्रम चलाउने कुरा गरेर कोठा आए । मलाई रातभर निन्द्रा लागेन ।

एक्लै बोले, खुशी भए कता कता मनमा डर पनि लागिरहेको थियोे । अर्को दिन बिहान म रेडियोमा पुगेँ । ११ बजेपछि कार्यक्रम “च्वाइस अफ म्युजिक“ मैले चलाए । सुरुमा म अत्यन्तै छिटो बोलेँ । नरोकिएरै सयौं शब्द बोल्थे म । मैले पहिलो दिनमै प्रष्ट बोले पछि मैले रेडियोमा काम पाए । अग्रज पत्रकारहरुबाट राम्रो प्रतिक्रिया पाए । मलाई रेडियोमा काम गर्ने उर्जा अझै थपियो । भर्खर गाउँबाट आएकी मैले कम्प्युटर शब्द सुनेको मात्रै थियोे, देखेको थिएन । मैले कम्युटर सिके बिस्तारै चलाउन सिकेँ । मैले रेडियो भित्रका सबै कामहरु एक महिनामै सिकेँ । त्यसपछि पत्रकारीता सम्बन्धि आधारभूत तालिम पनि लिने अवसर जुर्यो । दुई वर्षको अबधिमा केही तालिमहरु लिए आफैंले प्रयास गरेर पनि केही सिकेँ ।

बिस्तारै समाचार लेखनमा मेरो रुचि क्रमशः बढ्दै गयो । मैले विविध कारण वस दुई वर्ष पछि रेडियो खप्तड आवाज छोडे । अहिले जयपृथ्वी एफएम नेटवर्कमा काम गर्दै धेरै कुरा सिक्दैछु । मैले पत्रकारीतामा सिक्दै र काम गर्दै रेडियोलाई जीवनको एउटा पाटो बनाउने सोचिराछु । यसरी सानै उमेरमा श्रोताबाट सञ्चारकर्मि बन्दै गर्दा मैले भोगेका दुःख, कहानीहरु अथाह छन् । कुनै दिन ‘पत्रकार’ बन्नसके सबै सुनाउने सोचिरहेको छु ।


बझाङी पत्रकारिता क्षेत्रमा महिला 
सञ्चार क्षेत्र आफैंमा चुनौतीपूर्ण छ । त्यसमा महिलाहरूलाई बढी समस्या त छँदै छ । बझाङी पत्रकारिता क्षेत्रमा महिला पत्रकारको सहभागिता सन्तोषप्रद छैन । हाम्रो बझाङ जस्तो दुर्गम जिल्लाहरुमा महिलाहरुलाई सञ्चार क्षेत्रमा टिक्न मुस्किल छ ।

अहिले जिल्लामा महिला पत्रकारहरु औंलामा गनिने अवस्थामा छन् । तै पनि पत्रकारिता पेसामै टिकिरहेका महिला पत्रकारहरूको सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान छ । साँच्चै नै भन्नुपर्दा महिलाका लागि घर परिवार समाजसँगै बाहिरी संसार त्यति सहज भने पक्कै छैन । एकातिर घरपरिवार, छोराछोरी, इष्टमित्र सम्पूर्णको जिम्मेवारी त छँदैछ अर्कोतिर प्रतिस्पर्धात्मक बाहिरी संसारमा स्थापित हुन झनै गाह्रो छ ।

 यसको अर्थ असम्भव भने हुँदै होइन । भनिन्छ नि ‘जहाँ इच्छा त्यहाँ उपाय” जब मानिसमा इच्छा शक्ति जागेर आउँछ, कुनै कुरा पनि असम्भव हुँदैन, त्यसको लागि पहिले आफूलाई सक्षम बनाउन त्यतिकै जरुरी छ । महिलाहरु पनि अगाडि बढ्नुपर्छ भन्ने हरेक तहबाट आवाज उठिरहन्छ तर, महिलालाई दिने जिम्मेवारी, कार्यस्थलको वातावरण, शारीरिक पेशागत सुरक्षाका कारणले पनि बाहिरी क्षेत्रमा महिला सहभागितालाई प्रभाव पार्ने गरेको छ ।

रेडियोमा काम गर्ने चाहाना, क्षमता हुँदाहुँदै पनि कतिपय महिला दिदिबहिनीहरु बिचमै छोड्न बाध्य हुन्छन् । ठुला सञ्चार गृहमा जिल्लाबाट संवाददाता राख्दा होस् वा डेस्कमा पत्रकार महिलालाई अवसर नदिनुले अवसरभन्दा चुनौती धेरै देखिन्छ । पत्रकारिता क्षेत्रमा महिलाको उपस्थितिले महिला अधिकारका मुद्दा उठान गर्न केही सहयोग अवश्य पुगेको छ तर महिला पत्रकारहरुको न्यून उपस्थितिले महिला अधिकार जुन रुपमा उठान हुनुपर्ने हो त्यति हुन सकेको देखिदैन ।

पछिल्लो समय सञ्चार संस्था, राज्यका निकाय, समाचार कक्षहरुमा पनि महिलाहरुको सहभागिता अनिवार्य बन्न थालेको छ । यसले गर्दा महिलाहरुलाई पुरुषको तुलनामा अझ बढी काम गर्ने पल्याटफर्म मात्रै होइन, सञ्चारमा छिटो फड्को मार्ने अवसर पनि छ । तसर्थ समानुपातिक समावेशी सिद्धान्तका आधारमा सञ्चारमा महिला सहभागिता हुनु जरुरी  छ ।


के पत्रकारीता क्षेत्रमा भविष्य छैन  
“पत्रकारीता क्षेत्रमा भविष्य छैन” भन्ने भनाईले प्रश्रय पाएको छ । कयौं दशकदेखि सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरुले पनि “पत्रकारीता क्षेत्रमा भविष्य छैन” भन्ने गरेका छन् । यसले हामि सक्रिय सञ्चारकर्मीहरुलाई पनि नैराश्यता छाएको छ । हामिले पनि सञ्चार क्षेत्रमा भविष्य छैन भनेर पेशाबाट पलायन हुने हो भने जिल्लाका सञ्चार माध्यमले सञ्चारकर्मी नपाउने अवस्था आउने देखिन्छ ।

पत्रकारिता क्षेत्र अवसर र चूनौति दुवै हो । पत्रकारीता भित्रका बेतिथीहरु बढ्नुले मानिसमा सञ्चार क्षेत्रप्रति बितृष्णा जागेको छ । राज्यको चाैंथो अंगलाई व्यवस्थित बनाउन सके पत्रकारितामा भविष्य छ । सञ्चार माध्ययमहरुले आफ्नो शाख जोगाउन प्रस्तुती र प्रस्तुत हुने विषयहरु सुधार गर्न आवश्यक छ । यस बिषयमा सरोकारवाला निकायले पनि समयमै सोच्न जरुरी छ । सम्पूर्णलाई विश्व रेडियो दिवसको शुभकामना !


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप विचार
पश्चिममा सञ्चित शक्ति बराबरको भूकम्प गएको छैन :  वरिष्ठ भूगर्भविद् अधिकारी

पश्चिममा सञ्चित शक्ति बराबरको भूकम्प गएको छैन : वरिष्ठ भूगर्भविद् अधिकारी

हामीले पश्चिम नेपालमा जुन महाभूकम्पको जोखिमको कुरा गरिरहेका छौँ, त्यसलाई अहिले गएको भूकम्पले कम गर्दैन भन्ने कुरा अहिलेसम्मको अध्ययनले देखाएको छ ।
सामाजिक सञ्जालमा नाङ्गीएका बझाङका भट्टराइ र सोती सरहरु, कारण यस्तो छ

सामाजिक सञ्जालमा नाङ्गीएका बझाङका भट्टराइ र सोती सरहरु, कारण यस्तो छ

नेट इन्टरनेटले मानिसहरुलाई आजभोली यति धेरै त्रसित र यति धेरै सजिलो बनाएको छ कि जुन हाम्रो परिकल्पनाभन्दा बाहिर जान्छ ।
बझाङ भूकम्पसँगै बदलिएको जनजीवन: एक अनुभव

बझाङ भूकम्पसँगै बदलिएको जनजीवन: एक अनुभव

बझाङमा प्रलयकारी भूकम्प जाँन्नहोला भने कुराले म निश्चिन्त कहिलै हुन सकिनँ।
तत्कालिन् तल्कोटदराले गुमायो एक शैक्षिक धरोहर

तत्कालिन् तल्कोटदराले गुमायो एक शैक्षिक धरोहर

प्रथमतः आदरणीयगुरु देविचन्द्र जोशीज्यूको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु !
भर्खरै