नेभिगेशन
राजनिति

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

भविष्यको नेतृत्व रोक्ने खेल त होइन ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर। उनी केवल एउटा निर्वाचन क्षेत्रका उम्मेदवार मात्र होइनन्; उनी सम्भावित पुस्तान्तरण, शक्ति सन्तुलन र सुदूरपश्चिमको भविष्य नेतृत्वको प्रतीकका रूपमा हेरिएका छन्। यही कारणले पनि उनीमाथि चौतर्फी प्रहार भइरहेको देखिन्छ।

वि.सं. २०४० असार २७ गते सामान्य परिवारमा जन्मिएका महरको राजनीतिक चेतना बाल्यकालमै अंकुराएको थियो। २०४८ सालको बहुदलपछिको पहिलो आमनिर्वाचनताका उनी विद्यालयमा अध्ययनरत थिए। बुबा रामबहादुर महर नेपाली कांग्रेसबाट गाविस अध्यक्ष निर्वाचित हुँदा घरमा राजनीतिक वातावरण स्वाभाविक थियो। तर २०५० सालको दासढुङ्गा दुर्घटनामा मदन भण्डारी को निधनपछि रेडियो, गाउँघरका बहस र त्यसपछिका गीत–चर्चाले उनलाई एमालेको विचारतर्फ आकर्षित ग¥यो। पारिवारिक पृष्ठभूमि कांग्रेस भए पनि उनले वैचारिक रूपमा फरक बाटो रोजे—यही निर्णयले उनको राजनीतिक पहिचान निर्माण ग¥यो।

उच्च शिक्षाका लागि काठमाडौँस्थित अमृत साइन्स क्याम्पसमा भर्ना भएपछि उनी सक्रिय रूपमा अनेरास्ववियु मा लागे। १८औँ राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्यमा पराजित हुँदा धेरैले उनको यात्रा त्यहीँ रोकिने अनुमान गरेका थिए। तर उनले हारलाई अन्त्य होइन, अर्को सुरुवात बनाए। १९औँ सम्मेलनमा केन्द्रीय सदस्य, त्यसपछि सचिवालय सदस्य, उपाध्यक्ष हुँदै २२औँ सम्मेलनबाट महासचिव र पछि अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दै उनले आफूलाई संगठनात्मक राजनीतिमा स्थापित गरे।

काठमाडौँमा संघर्षरत बझाङी विद्यार्थीहरूका लागि उनी ‘अभिभावक’ जस्तै बने। समस्या पर्दा अगाडि सर्ने, अवसर खोजिदिने र नेटवर्क निर्माण गर्ने क्षमताले उनलाई युवापुस्तामाझ लोकप्रिय बनायो। यही संगठनात्मक शक्ति उनले पछि जिल्ला राजनीतिमा प्रयोग गरे। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भैरवबहादुर सिंह को जितमा महरको भूमिका निर्णायक रहेको चर्चा व्यापक छ। त्यस्तै, दमन भण्डारी लगायतका नेताहरूलाई स्थापित गर्न उनले युवा दस्ताको परिचालन गरे। यसैले उनलाई ‘किङ्ग मेकर’ भनियो।

विडम्बना यहीँ छ—हिजो अरूलाई जिताउन काँध थाप्ने नेता आज आफैँ चुनावी मैदानमा उत्रिँदा चौतर्फी प्रहारको केन्द्र बनेका छन्। २०७९ को निर्वाचनमा उनी भानुभक्त जोशीसँग १००१ मतको झिनो अन्तरले पराजित भए। त्यो हारले उनको राजनीतिक महत्वाकांक्षामा ब्रेक लगाए पनि ऊर्जा समाप्त गरेन । बरु यसपटकको निर्वाचनलाई उनले पुनस्र्थापनाको अवसरका रूपमा लिएका छन्। तर यो लडाइँ पनि सहज छैन। मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका प्रकाश रसाइली अगाडि छन्। नेकपा (एस) र माओवादीको साझा उम्मेदवार मीनबहादुर कुँवरले पनि समीकरण बदल्ने प्रयास गरिरहेका छन्। वैकल्पिक राजनीतिक धारको प्रतीक बनेका काठमाडौँका मेयर बालेन शाहको प्रभावले युवा मतदातामा केही तरंग सिर्जना गरेको विश्लेषण । गठबन्धनको अभाव र विगतको समीकरण भत्किँदा मैदान झनै जटिल बनेको छ।

महरमाथिको प्रहार बाहिरबाट मात्र होइन, भित्रबाट पनि आएको चर्चा छ। पार्टीभित्रको शक्ति सन्तुलन, भविष्यको नेतृत्व र क्षेत्रीय वर्चस्वको समीकरणले कतिपयलाई सशंकित बनाएको देखिन्छ। राजनीतिमा उकालो चढ्न सक्ने सम्भावना बोकेको व्यक्तिलाई सुरुमै कमजोर बनाउने रणनीति नयाँ होइन। महरको बढ्दो प्रभावले केही नेताहरूलाई असहज बनाएको आरोप–प्रत्यारोप चलिरहेका छन्। उनको विरोध गर्नेहरु हिजो क्याम्पसमा बिपक्षी प्यानलबाट ग्याङ फाइट गर्ने, विभिन्न बहानामा टाढिएका, उनीबाट स्वार्थ लिन नसकेकाहरु र उनलाई नबुझेका तथा विदेशमा रहेका युवाहरु पनि हुन् ।

त्यसमाथि, व्यक्तिगत विवाद र अदालती चक्करका प्रसंगहरू चुनावी हतियार बनेका छन्। विगतका घटनालाई पुनः उछालेर नैतिक प्रश्न उठाउने प्रयास भइरहेका छन्। तर नेपाली राजनीतिमा यस्ता प्रकरणले कहिलेकाहीँ सहानुभूति पनि जन्माउँछन्। अन्ततः मतदाताले यी आरोपलाई कति गम्भीर रूपमा लिन्छन् भन्ने नै निर्णायक हुन्छ।

बझाङको चुनावी परिवेश आफैँमा चुनौतीपूर्ण छ। अधिकांश मतदानस्थल संवेदनशील वा अतिसंवेदनशील सूचीमा राखिएको छ। यस्तो अवस्थामा संगठन, कार्यकर्ताको एकता र उम्मेदवारको व्यक्तिगत पहुँचले नै परिणाम निर्धारण गर्छ। महरको बल संगठन र युवा पंक्ति हो; कमजोरी भनेको संसदीय चुनावमा प्रत्यक्ष जितको अनुभव नहुनु र विगतको झिनो हारको मनोवैज्ञानिक दबाब हो।
यदि उनले यसपटक जिते भने, उनी केवल बझाङका सांसद मात्र रहने छैनन्; सुदूरपश्चिममा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने बलियो अनुहार बन्न सक्छन्। हारको अवस्थामा भने उनको राजनीतिक यात्रा केही समयका लागि सुस्ताउन सक्छ।

यसैले ऐन महरमाथि भइरहेको चौतर्फी प्रहार केवल सामान्य चुनावी प्रतिस्पर्धा मात्र होइन, सम्भावित भविष्यको शक्ति समीकरण रोक्ने प्रयास पनि हुन सक्छ। राजनीतिमा सबैभन्दा धेरै प्रहार त्यसमाथि हुन्छ, जसको जितले धेरैको सन्तुलन हल्लिन सक्छ।

अन्ततः निर्णय बझाङी जनताकै हातमा छ। उनीहरूले ऐन महरलाई अन्तर्घात र आरोपहरूको घेराबाट माथि उठाएर अवसर दिन्छन् कि नयाँ विकल्प रोज्छन् । यसले केवल एक निर्वाचन क्षेत्रको परिणाम मात्र तय गर्ने छैन । यसले सुदूरपश्चिमको भावी राजनीतिक दिशा पनि संकेत गर्नेछ । महरको राजनीतिक भाग्य र बझाङको भविष्य यतिबेला साँच्चै एउटै मोडमा उभिएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै