नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्नामा यातायात व्यवसायीको ज्यादती : १५ किलोमिटरको भाडा ५ सय ५० रूपैयाँ... 

बझाङ:खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने तीन सय ५० रुपैयाँ असुल गर्दै आएका छन् । ’सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ’, उहाँले भन्नुभयो, ’तमैल पुग्न बाटोमै झण्डै एक हजार रुपैयाँ सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?’खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउनुहुन्छ । ’घरतिर हरेक हप्ता जानुपर्छ । बाटोमै धेरै खर्च हुन्छ ।

जीप सञ्चालकले मनोमानी तरिकाले गाडी भाडा लिन्छन् । प्रतिवाद कसैले गर्दैैनन् ।’ उहाँका अनुसार छान्नामा जीप सञ्चालक कम यात्रु भए नजाने तर क्षमताभन्दा बढी भए पनि थपिहाल्छन् । ’कति दिन तमैल बजारमै थुप्रो जीप भएर पनि हिँडेर गइयो’, उहाँले भन्नुभयो, ’जीप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् तर जीप भरिए जुन ठाउँबाट चढे पनि रु सयभन्दा तल लिँदैनन् ।’खप्तडछान्नामा अघिल्लो सरकारको पालामा एक पटक मूल्य निर्धारण गरिएको थियो । ’प्रतिकिलोमिटर १२ रुपैयाँ तोकेर तमैल–कालुखेती–गडराय–थामलेकको भाडा निर्धारण गरिएको थियो’, खप्तडछान्ना–५ का राजेश कार्कीले भन्नुभयो, ’त्यो बेलामा कालुखेतीबाट एक सय २० मै तमैल पुग्थ्यौँ । पछि सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे ।

पालिकाले कुनै सुनुवाइ गरेन ।’उहाँका अनुसार भाडाको विषयलाई लिएर पटकपटक कुरा उठ्दा पनि पालिकाले चासो दिएको छैन । ’कालुखेतीबाट गडरायसम्म करिब पाँच किलोमिटर दूरी छ । त्यसमा पनि व्यवसायीले दुई सय रुपैयाँ असुल्दै आएका छन् ।’ उहाँले भन्नुभयो । गडरायका ध्रुव रोकाया दशैँ बिदामा घर आएको बेला सम्झिँदै भन्नुहुन्छ, ’घर आएको बेला गाडी चालकसँग झगडा नै भयो । रुट परमिट पाएका सडकमा पनि तेब्बर भाडा लिएको भन्दै झगडा भयो । पछि ठूलो लफडा हुनसक्ने भन्दै बोलेनौँ ।’उहाँ पनि पालिकाले भाडा यकिन गरी बढी पैसा असुल्ने जीप व्यवसायीलाई कारबाही गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ’जीप व्यवसायीलाई जसले जति भाडा लिए पनि हुन्छ भन्ने भएको छ । १० मिनेटको बाटोमा गाडी चढे पनि सय रुपैयाँभन्दा बढी असुल्छन् ।’ यता जीप व्यवसायी हेमराज थापा जीप भाडा अलि बढी नै भएको स्वीकार्नु हुन्छ । उहाँ भन्नुहुन्छ, ’जीपको भाडा अलि बढी नै हो तर सडकको अवस्थाअनुसार त्यो भाडा केही पनि होइनजस्तो लाग्छ ।’

सरकारले सडक अलि गतिलो बनाइदिएको भए भाडा निकै सस्तो हुने उहाँ बताउनुहुन्छ ।’गाडी भाडाको विषयमा हामी जीप व्यवसायी आफैँले सल्लाह गरेर एक मूल्य तोकेका हौँ । गाडी छान्नामा दुई÷तीन ठाउँमै खोलामा हाल्नुपर्छ । खोलामा हाल्दा हप्तामै आठ÷दश हजार रुपैयाँका टायर फेर्नुपर्छ । त्यो हेर्न हो भने व्यवसायीलाई पनि निकै मर्का छ ’ उहाँले भन्नुभयो । थापाका अनुसार सरकारले सडक बलियो बनाइदिए जीप भाडा अन्य ठाउँको जस्तै हुन्थ्यो । ’सबैले हामीलाई मात्रै दोष दिन्छन् । यहाँ हिउँदकै महिनामा पहिरो आएर सडक अवरुद्ध हुँदासमेत व्यवसायीले पहिरो पन्छाएर यात्रुको सुविधाका लागि जीप गुडाउनुपर्छ ।’ उहाँले भन्नुभयो ।

अब नयाँ भाडा निर्धारण हुन्छ :पालिका

खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशी भने गाउँपालिकाले प्रतिकिलोमिटर २० रुपैयाँ लिने निर्णय गरेर प्रशासनलाई पठाएको बताउनुहुन्छ । ’हामीले पालिकामा निर्णय गरेर नयाँ मूल्यदर प्रशासनलाई पठाएका छौँ । उताबाट पत्र आएको छैन । त्यसपछि जीप भाडामा एकरूपता हुन्छ ।’ उहाँले भन्नुभयो ।प्रवक्ता जोशीका अनुसार छान्नामा धेरै ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध हुने गरेको छ । ’गएको वर्षको बाढीले सडक पूरै तहसनहस गरेको हुँदा बाटो निकै अवरुद्ध हुने भएपछि जीप भाडा निर्धारण गर्न सकिएको थिएन ।

अब तुरुन्तै नयाँ भाडादर लागू हुन्छ ।’ सडकलाई दिगोरूपमा टिकाउन तथा बाह्रै महिना सञ्चालन गर्नका लागि पनि पालिकाले सबै निकायसँग छलफल गरिरहेको उहाँले बताउनुभयो । अहिले छान्नामा मात्रै डेढ दर्जन जीप सञ्चालनमा छन् । गाडी भाडा बढी भएकै कारण व्यवसायीले जीप थप्दै गरेको स्थानीयको बुझाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै