नेभिगेशन
Tihar Banner
Tihar Banner
समाज

नेपालले पायो विद्युत निर्यातको अनुमति, ३९ मेगावाट भारत निर्यात हुँदै

काठमाडौं : नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको हो ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो ।

दुई विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात सुरु गर्ने प्राधिकरणका कार्यकारि निर्देशक  कुलमान घिसिङले बताए । यो लाइनबाट विद्युत आयात मात्र भइरहेको छ ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा विद्युत खरिद गरी आयात गर्न यस अघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको वेला आईआईएक्समार्फत प्रतिश्पर्धी दरमा विद्युत आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँग नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन् । "राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत बिक्रीका लागि अनुमति पाएका छौँ । यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुङ्गा हो," उनले भनिन्, "हामीले प्रस्ताव गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युतगृहबाट उत्पादित विद्युतको भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेका छौँ ।"

घिसिङले विद्युत निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताए । "नेपाल–भारतबीचको विद्युत व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत भारतीय बजारमा निर्यात शुरु भएसँगै नेपालका जलविद्युत विकासको ठुलो ढोका खुलेको छ," उनले भने, "विद्युत निर्यातको शुरुआत थोरै परिमाणबाट भए पनि चाडै नै हामीले प्रस्ताव गरेका माथिल्लो तामाकोशीलगायतका अन्य आयोजनाको विद्युत पनि भारतीय बजारमा निर्यात हुने विश्वास लिएका छौँ ।"

भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत बिक्री गर्ने छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्ने छ । विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुने छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात हुने छ । भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रति युनिट विद्युतको मूल्य २८ भारतीय रुपैयाँ (भारु)सम्म पुगेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।