नेभिगेशन
राजनिति

न्यायालयको विवादमा कांग्रेस मौन बस्न मिल्दैन

अदालतभित्रको आन्तरिक कुरा भन्ने हो भने त सबै बिग्रन्छ

नेपाली कांग्रेसले विधिको शासन र निष्पक्षतालाई प्रजातन्त्रसित जोडेर यति ठूलो आन्दोलन गर्दै आयो । हतियारसहितको युद्ध नै गर्‍यो । त्यो पार्टीले अदालतमा उठेका प्रश्नहरुका बारेमा पनि स्पष्ट मत राख्नुपर्छ । सरकारले यसरी हरेक कुरामा मौन बस्नु हुँदैन ।

यसरी हरेक कुरालाई छाडा छोड्ने हो भने, अदालतभित्रको आन्तरिक कुरा भन्ने हो भने त सबै बिग्रन्छ । बिग्रिनेमात्रै होइन, देश बर्बाद हुन्छ । अदालत भनेको जनतालाई न्याय दिने ठाउँ हो, त्यसैले अदालतले जनताको विश्वास जित्नुपर्छ । अदालतले जनताको विश्वास आर्जन नगर्ने हो भने त विधिको प्रक्रिया नै अन्त्य हुन्छ, राज्य नै सिद्धिन्छ ।

न्यायालयमा के के कमजोरी रहे, कहाँ कहाँ विचौलियाको प्रयोग भएको छ संसदले त्यसमा छलफल गर्नुपर्छ, छानविन गर्नुपर्छ । न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गर्न सकिन्छ ।

यस्तो संवेदनशील अवस्थामा प्रमुख प्रतिपक्षी एमालेले पनि संसद बन्द गर्नु हुँदैन । यत्रो राष्ट्रिय मुद्दा भएका बेलामा प्रतिपक्षले संसद चल्न नदिने र सरकारले संसदको अधिवेशन नै अन्य गर्नेजस्तो काम गर्नुहुँदैनथ्यो । यो त न्यायालयको समस्या हाम्रो होइन भनेर मिलेमतो गरेको जस्तो भयो ।

स्पष्ट नबोलेपछि न्यायालयको विषयमा दलहरु पनि कहीँ न कहीँ मिलेका होलान् भन्ने आशंका जनतामा देखिन्छ । जनताले उठाएको विषयलाई जवाफ नदिने हो भने के को राजनीतिक दल, के को नेता ?

अहिले न्यायालयको विवादमा नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्ष लिने अरु दल मौन बसेको देखिएको छ । मौन बस्नु र पक्ष लिनु त बराबरजस्तै हो । न्यायालयको विकृति हटाउने विषयमा पनि मौन बस्नु हुन्छ र ? विधि र प्रक्रिया अनुसार त केही न केही त गर्नैपर्‍यो नि ।

हामीले त पार्टी र सरकारलाई सचेत र सजग गराउने हो । हामीले कसैको राजीनामा मागेका छैनौँ, कसैलाई तलमाथि गराउने नियतले हामीले प्रश्न उठाएका पनि होइनौँ । प्रश्न उठेपछि ती प्रश्नहरुको संबोधन गर्नुपर्दैन ? सत्ताको नेतृत्व गर्ने दल भएको नाताले नेपाली कांग्रेसले झन् चासो दिनुपर्छ । नेतृत्वसँग हाम्रो माग पनि यही नै हो ।

हामीले खोजेको अदालत निष्पक्ष बनोस्, विचौलिया र भ्रष्टचारीहरुको थलो नबनोस् भन्ने नै हो । अहिले सर्वाेच्च अदालतमा देखिएको विवादबारे मौन बस्नु कांग्रेसको झन् ठूलो कमजोरी हो । सरकारको नेतृत्व गर्ने दलको मौनताले यिनीहरुले पनि प्रधानन्यायाधीश जबराबाट केही फाइदा लिएका होलान् भन्ने संकेत गर्दैन र ?

प्रधानन्यायाधीश जबरा कांग्रेस नेतृत्वको सरकारकै पालामा न्यायाधीश नियुक्त भएका हुन् । त्यसैले कांग्रेसले कानुन व्यवसायी र अरु सहयात्री दलका नेताहरुसँग यस विषयमा छलफल गर्नुपर्‍यो । अब अदालतमा विवादरहित व्यक्तित्व नियुक्तिका लागि पहल गर्नुपर्‍यो । आफ्नो कमजोरीको निरुपण आफैंले खोजेर जनताको विश्वास जित्ने उपयुक्त मौका पनि हो यो ।

त्यसैले हामीले नेतृत्वलाई आफ्नो धारणा स्पष्ट पार्न माग गरेका छौं । विगतमा हिंसात्मक आन्दोलन गर्ने पक्षलाई शान्ति प्रक्रियामा ल्याउन मध्यस्थता गर्ने, हिजो संविधान बनाउने कांग्रेस अहिलेको विवादमा चुप लाग्न मिल्छ ?

न्यायालयको विवादबारे संसदले विशेष समिति बनाएर छानविन गर्नुपर्छ, त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ । यति धेरै प्रश्न उठिसकेपछि प्रधानन्यायाधीश यत्तिकै बस्न त मिल्दै मिल्दैन ।

भण्डारीसँगको कुराकानीमा आधारित

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिति
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै