केदारस्यूँ गाउँपालिकामा निती र विधीको खिल्ली उडाउँदै मापदण्ड विपरित रकम खर्च गरेको पाइएको छ । केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० मा स्थानीय सरकार संञ्चालन ऐनको निती र विधीको खिल्ली उडाउँदै ७८ लाख ९७ हजार तीन सय ९४ रुपैयाँ खर्च गरेको पाइएको छ । स्थानीय सरकार संञ्चालन ऐन २०७४ ले स्थानीय तहको रकमलाई चन्दा, पुरस्कार तथा सहायता वा संस्थागत रुपमा अनुदान दिनका लागि कार्यकापालिकाले निणर्य गरेर रकम बाँडफाँड गर्नु पर्ने व्यवस्था गरिएको भएपनि केदारस्यूँ गाउँपालिकाले मापदण्ड र विधी नै तयार नपारेर ठुलो रकम खर्च गरेको पाइएको छ ।
गाउँपालिकाको आन्तरिक स्रोत अन्र्तगतको यो रकम विभिन्न संस्था तथा व्यक्तिहरुलाई आयस्रोतभन्दा ३० प्रतिशत वढी रकम अनुदान दिएको पाइएको छ । गाउँपालिकाले विना मापदण्ड विपद्बाट क्षती भएका योजनाहरुको भुक्तानी शिर्षकमा २१ लाख ९६ हजार आठ सय ९४ रुपैयाँ उपभोक्ता समिती मार्फत खर्च गरिएको छ । त्यसैगरी विरामी व्यक्तिहरुलाई भुक्तानी शिर्षकमा ९ लाख ६२ हजार रुपैयाँ विना मापदण्ड भुक्तानी गरेको पाइएको छ । यस्तै आर्थिक सहयोग शिर्षकमा १३ लाख ५ हजार रुपैयाँ विभिन्न व्यक्तिहरुलाई खर्च गरेको पाइएको छ ।
यस्तै गाउँपालिकाले विभिन्न समयमा आएको वाढी पहिरोबाट क्षति भएका व्यक्तिहरुलाई ३० लाख तीन हजार ५ सय रुपैयाँ भुक्तानी गरेको छ, भने औषधी उपचारका नाममा विभिन्न विरामीहरुलाई पालिकाले भुक्तानी गरेको देखाउँदै चार लाख तीस हजार रुपैयाँ भुक्तानी गरेको पाइएको छ । गाउँपालिकाले भुक्तानी गरेको यो रकम विना मापदण्ड भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
७५ जना करारमा कर्मचारी भर्ना
केदारस्यूँ गाउँपालिकाले स्थानीय तहलाई आर्थिक बोझ पर्ने जान्दा जान्दै ७५ जना करारका कर्मचारीहरु भर्ना गरेको पाइएको छ । स्थानीय सरकार संञ्चालन ऐन २०७४ को दफा ८३ मा स्थानीय सरकारलाई आवश्यक कर्मचारीहरु लोक सेवाबाट पदपुर्ति गर्नु पर्ने र करारमा कर्मचारीहरु भर्ना गर्न नपाउने भएपनि केदारस्यूँ गाउँपालिकाले मापदण्ड विपरित राखिएका ७५ जनालाई वार्षिक रुपमा दुई करोड २० लाख २६ हजार एक सय ८ रुपैयाँ सेवा सुविधा भुक्तानी गरेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।