मानसिक स्वास्थ्य मोडुल १ र महिला हिंसा परामर्ष सेवा सम्बन्धि ६ दिने तालिम आज झोतामा सम्पन्न भएको छ । दलित सहयोग समाजको आयोजना तथा युएमएनको आर्थिक सहयोगमा परियोजनाका समाजिक सहजकर्ताहरुका लागि आयोजना गरिएको उक्त तालिम आज एक कार्यक्रमकावीच समापन गरिएको हो ।
समुदायमा रहेका मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई समुदायमा नै गएर परामर्श सेवा दिने, स्वास्थ्य चौकीबाट परामर्श सेवा दिई उनीहरुको स्वास्थ्यमा सुधार ल्याउने र गम्भिर मानसिक समस्या हुनबाट रोक्नका लागी कसरी काम गर्न सकिन्छ भन्ने उदेश्यले उक्त ६ दिने तालिमको आयोजना गरिएको दलित सहयोग समाजद्धारा संञ्चालित मानसिक स्वास्थ्य परियोजना संयोजक विष्ना बमले जानकारी दिनुभयो । तालिममा थलारा गाउँपालिका र बुगल नगरपालिकाका सामाजिक परिचालक र दुबै पालिकाका स्वास्थ्य चाैकीका अनमीहरु गरी ३५ जनाकाे सहभागिता रहेको थियो ।
६ दिने तालिममा बरिष्ठ मनोविद् बिनोद पौडेल र रेनशा घिमिरेले प्रशिक्षण गराउनुभएको थियो । दलित सहयोग समाज अनर्तगत संञ्चालन भइरहेको समान व्यवहार परियोजनाले जिल्लाको थलारा गाउँपालिका बुगल नगरपालिकामा काम गरिरहेको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया समुदायमा मानसिक समस्या भएका व्यक्तिहरु थुप्रै भएको तिनीहरुको समस्या पहिचान तथा समास्या समाधानका लागी परियोजनाले सकारात्मक भुमिका खेलेको बताउनुभयो ।
गाउँमा विभिन्न समस्या कारण सबैभन्दा बढी महिलाहरुमा मानसिक समस्या बढी देखिने गरेका कारण आगामी दिनमा पनि थप कार्यक्रमका साथ परियोजनाले काम गर्न आवश्यक रहेको उपाध्यक्ष खातीले बताउनुभयो । दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश राेकाया प्रमुख अतिथी, उपाध्यक्ष राम खाती र युएमएनका टिम लिडर मोहनचन्द भण्डारी विशिष्ट अतिथी रहनुभएको थियो ।