शिक्षकहरुका लागी आधारभुत कम्प्युटर सीप सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । प्रगतिशिल युवा समाजको आयोजना तथा वल्र्डभिजन इन्टरनेशनल नेपालको लेटस परियोजनाको आर्थिक सहयोगमा संञ्चालन गरिएको ६ दिने पुनर्ताजगी तालिम आज सम्पन्न भएको छ ।
जयपृथ्वी नगरपालिकाभित्र रहेका ८ वटा विद्यालयको शैक्षिक गुणस्तर उकास्ने र शिक्षालाई प्रविधिसँग जोड्ने उदेश्यले संञ्चालन गरिएको उक्त परियोजनाले शिक्षकहरुका लागि पुनर्ताजगी तालिम संञ्चालन गरेको सामाजिक परिचालक उमेश विष्टले जानकारी दिनुभयो । तालिममा जयपृथ्वी नगरपालिका भित्रका ८ वटा विद्यालयका १० जना शिक्षकहरुको सहभागिता रहेको थियो । शिक्षकहरुलाई विद्यालयमा आईसीटी ल्याव स्थापना भएपछि कसरी पठनपाठन गर्ने, सफ्ट्यर मार्फत कसरी अध्यापन गर्ने तथा आइसीटीको पूर्ण प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उदेश्यले उक्त तालिको आयोजना गरिएको विष्टले बताउनुभयो ।
प्रगतिशिल युवा समाजले जयपृथ्वी नगरपालिकाका ८ वटा विद्यालयबाट ५।५ जना गरी ४० जना शिक्षकलाई तालिम दिने र दोस्रो चरणको तालिम आइतबारबाट संञ्चालन हुनेछ । जयपृथ्वी नगरपालिकाका ८ वटा विद्यालयमा आइसीटी ल्याव निर्माण समेत गर्न लागिएको सामाजिक परिचालक उमेश विष्टले जानकारी दिनुभयो । जसमा जयपृथ्वी नगरपालिका वडा नं. १ को नारायण मावि, ३ को पाण्डु मावि, ४ को बालविबास मावि, ६ को भवानी मावि, ७ को सुनिपिपल चौर मावि, ८ को शिशु आधारभुत विद्यालय, ११ को सुर्मा आधारभुत विद्यालय र निलकट्टी मावि दैकुमला रहेका छन् ।
निलकट्टी मावि दैकुमलाको शिक्षक राजेन्द्र प्रसाद उपाध्याले प्रविधिको बड्दो प्रयोगलाई शिक्षा क्षेत्रमा समावेश गराउन आवश्यक रहेको भन्दै प्रगतिशिल युवा समाजले शिक्षकका लागी उपलब्ध गराएको यो तालिमले ठुलो सघाउ पुगेको बताउनुभयो । साथै आगामी दिनमा आइसीटी ल्यावको स्थापनापछि विद्यालयमा प्रविधीको पूर्णरुपमा प्रयोगगरी अध्यापनमा विद्यालय लाग्ने समेत उहाँले बताउनुभयो । समापन कार्यक्रममा बोल्दै लेटस परियोजनाकी कार्यक्रम संयोजक जमुना श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तरलाई प्रभावकारी बनाउन र विद्यार्थीहरुलाई प्रविधीसँग जोडेर जीवन उपयोगी शिक्षा प्रदान गर्ने उदेश्यले उक्त परियोजना लागु भएको बताउनुभयो । शिक्षकहरुले आगामी दिनमा आइसीटी मार्फत अध्ययन गराउँदा विद्यार्थीहरुको सिकाईको स्तरका विकास हुने र शिक्षकहरुको समेत क्षमतामा विकास हुने समेत बताउनुभयो ।
यस्तै प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले परियोजनाले शिक्षाको क्षेत्रमा देखेका सम्भावनालाई सफल बनाउन विद्यालय र शिक्षकहरुको ठुलो भुमिका रहने भएका कारण आफुले सिकेको सीपलाई पूर्णरुपमा प्रयोगमा ल्याउन अनुरोध गर्नुभयो । साथै कतिपय विद्यालयले प्रविधीको प्रयोग गर्न नसक्दा आइसीटी ल्याव त्यसै थन्किने र प्रयोगमा नआउने समस्या भएका कारण विद्यालयले यसको प्रयोगमा निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।